nrb-act

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद ४ आर्थिक व्यवस्था

नियम कानुन

नेपाल राष्ट्र बैंक ऐन, २०५८ परिच्छेद ४ आर्थिक व्यवस्था

३९. बैंकको पुँजीः (१) बैंकको पुँजी पाँच अरब रुपैयाँ हुनेछ ।
(२) बैंकको पुँजी नेपाल सरकारबाट प्राप्त हुनेछ र यो पुँजी हस्तान्तरण गर्न वा सो उपर ऋणभार लगाउन पाइने छैन ।
(३) उपदफा (१) बमोजिमको पुँजी नेपाल सरकारले थपघट गर्न सक्नेछ । यसरी पुँजी थपघट गर्दा नेपाल सरकारले बैंकसंग परामर्र्श लिनेछ ।
४०. खुद आय व्ययको गणनाः (१) बैंकले प्रत्येक आर्थिक वर्षमा आफ्नो आय व्ययको विवरण तयार गर्नेछ ।
(२) उपदफा (१) बमोजिम आय व्ययको विवरण तयार गर्दा नेपाल लेखामान बमोजिम गर्नु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल लेखामानमा समावेश नभएका क्षेत्रहरुको हकमा अन्तर्राष्ट्रिय लेखा मापदण्डलाई आधारको रुपमा लिनु पर्नेछ ।
(४) आय व्ययको विवरण तयार गर्दा बैङ्कलाई प्राप्त भैसकेको आय, बैङ्गले ब्यहोरेको वा व्यहोर्न बाँकी रहेको व्यय र खुद मूल्याड्ढन आय वा व्यय समायोजन गरी खराब वा शंकास्पद ऋण र सम्पत्तिको ह्रास कट्टी व्यवस्था घटाई खुद आय यकिन गर्नु पर्नेछ ।
४१. खुद आयको बाँडफाँडः (१) कुनै आर्थिक वर्षमा बैंकले खुद आय आर्जन गरेमा त्यस्तो आयको बाँडफाँड तथा प्रयोग देहाय बमोजिम गर्नु पर्नेछः–
(क)खुद आयबाट पुनर्मृल्याङ्कन नाफा बराबरको रकमलाई पुनर्मूल्याङ्कन जगेडा कोषमा छुट्टयाई राख्नु पर्नेछ ।
(ख)खण्ड (क) बमोजिम रकम छुट्टयाएपछि कायम हुन आउने वितरणयोग्य खुद आयको पाँच प्रतिशत रकम मौद्रिक दायित्व कोषमा, दश प्रतिशतमा नघट्ने गरी समितिले तोकेको रकम साधारण जगेडा कोषमा, पाँच प्रतिशत रकम वित्तीय स्थायित्व कोषमा तथा समितिले तोके बमोजिमको रकम खुद सञ्चित बचत कोषमा राख्नु पर्नेछ ।
(ग)खण्ड (ख) बमोजिम रकम विनियोजन गरिसकेपछि समितिले बाँकी बचतबाट अन्य कोषमा आवश्यकता अनुसार रकम विनियोजन गरुी बाँकी रहन आउने रकम नेपाल सरकारमा दाखिला गर्नु पर्नेछ ।
(२) साधारण जगेडा कोष र सञ्चित बचत कोषको रकम बैङ्कको पूँजी बृद्धि गर्नका लागि समेत प्रयोग गर्न सकिनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कोषमा जाने रकम बाहेक अन्य रकमका सम्बन्धमा नियममा व्यवस्था भए बमोजिम हुनेछ ।
४२. खुद व्ययको बाँडफाँडः (१) कुनै आर्थिक वर्षमा बैंकले खुद आयको तुलनामा व्यय बढी भएको अवस्थामा बढी भएको खुद व्यय रकमलाई देहाय बमोजिम बाँडफाँट गर्नु पर्नेछः–
(क)खुद व्ययमा पुनर्मूल्याङ्कन आय समेत समावेश भएमा पुनर्मूल्याङ्कन आयलाई पुनर्मूल्याङ्कन जगेडा कोषमा राख्नु पर्नेछ ।
(ख)खुद व्ययमा पुनर्मूल्याङ्कन व्यय समेत समावेश भएको अवस्थामा पुनर्मूल्याङ्कन व्ययलाई पुनर्मूल्याङ्कन जगेडा कोषमा खर्च लेख्नु पर्नेछ । पुनर्मूल्याङ्कन जगेडा कोषमा रहेको रकमभन्दा पुनर्मूल्याङ्कन व्यय बढी भएमा बढी भएको व्यय रकमलाई देहायको कोष तथा खातामा प्राथमिकता क्रममा खर्च लेखिनेछः–
(१)सञ्चित बचत कोषमा जम्मा रहेको रकमसम्म सञ्चित बचत कोषमा,
(२)उपखण्ड (१) अनुसार सञ्चित बचत कोषमा समायोजन पश्चात् व्यय रकम बाँकी रहेमा साधारण जगेडा कोषमा, र
(३)उपखण्ड (१) र (२) बमोजिम सञ्चित बचत कोष र साधारण जगेडा कोष समायोजन पश्चात् व्यय रकम बाँकी रहेमा पूँजी खातामा ।
(ग) खण्ड (क) बमोजिम पुनर्मूल्याङ्कन आय र खण्ड (ख) बमोजिमको पुनर्मूल्याङ्कन व्यव बाहेकको सञ्चालन तथा अन्य व्ययलाई सञ्चित बचत कोषमा खर्च लेख्नु पर्नेछ ।
(घ)सञ्चित बचत कोषमा जम्मा रहेको रकम भन्दा व्यय रकम बढी भएमा बढी व्यय रकमलाई देहायको कोष तथा खातामा प्राथमिकता क्रममा खर्च लेख्नु पर्नेछः–
(१) साधारण जगेडा कोषमा रहेका रकमसम्म साधारण जगेडा कोषमा,
(२)उपखण्ड (१) बमोजिम साधारण जगेडा कोषमा समायोजन पश्चात् व्यय रकम बाँकी रहेमा पूँजी खातामा ।
(२) उपदफा (१) बमोजिम व्ययको बाँडफाँड गर्दा समायोजन हुन नसकेको व्यय नेपाल सरकारले व्यहोर्नेछ ।
४३. बार्षिक बजेटः प्रत्येक आर्थिक वर्ष शुरु हुनु अगावै समितिले आगामी आर्थिक वर्षको लागी अनुमानित आम्दानी र खर्चको बजेट तथा कार्यक्रम स्वीकृत गर्नेछ । यसरी स्वीकृत गरिएको बजेटलाई वास्तविक परिस्थिति र अनुमान गर्न सकिने कुराका आधारमा प्रत्येक तीन महिनामा समितिले मूल्यांड्ढन र संशोधन गर्न सक्नेछ । यस्तो बजेट नेपाल सरकारको जानकारीको लागी पठाइनेछ ।