बैंकको जागिरे बन्न यी कुरा जानुपर्छ

बैंकिंग

पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्ट्फििकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्ट्फििकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु जरुरी हुन्छ । बैंकिङ क्षेत्रबारे राम्रोसँग बुझेको व्यक्तिलाई बैंकले जागीर नदिने भन्ने हुँदैन । त्यसैले, बैंकमा जागीरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ :

व्याजदर करिडोर : सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ ।निक्षेपकर्ताले सँधै बढी व्याज खोज्छन् भने ऋणीले स्वभावैले न्यून व्याज खोज्छन् । त्यसैले व्याजदर बढ्दा निक्षेपकर्ताहरु उत्साहित हुन्छन् भने ऋणीहरु निरुत्साहित हुन्छन् । त्यसैले दुवैलाई सन्तुलित गर्नेगरी राष्ट्र बैंकले नीति अबलम्बन गर्नुपर्छ । केही वर्षयता व्याजदर न्यून हुँदा निक्षेपकर्ताहरु निरुत्साहित भएका छन् । यस्तो अवस्थामा संसारभरका केन्द्रिय बैंकहरुले करिडोरमार्फत व्याजदर स्थिर राख्ने गर्दछ । व्याजदर निश्चित दायरामा भएन भने अर्थतन्त्रमा ठूलो नोक्सनी हुन्छ । त्यसैले, करिडोर लागू भएपछि, निक्षेपकर्ता, ऋणी र अर्थतन्त्र सबैलाई फाइदा पुग्छ ।

व्याज मुल्तबी : राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार कर्जा लगानीमा प्राप्त हुनुपर्ने ब्याज नगदमा प्राप्त भएमा मात्र आम्दानी जनाउन पाउँछन् । तर, बुझाउनु पर्ने निर्धा््रित समय पुगेको ब्याज पनि नगदमा प्राप्त नभएसम्म त्यस्तो ब्याजलाई ‘ब्याज मुल्तबी’ हिसाबमा राख्नुपर्छ । त्यस्तै, उठ्नुपर्ने भाका नाघेर खराब कर्जामा परिणत भएको ऋणको ब्याज रकमलाई पनि मुल्तबी हिसाबमा राख्नुपर्ने व्यवस्था छ ।

मुद्रास्फीति : सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।

कर्जा जोखिम : कर्जा जोखिम भन्नाले कर्जा वा सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट बञ्चित गराइएको कारणबाट उत्पन्न हुने जोखिमलाई बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति वा संस्था वा कर्जा ग्राहकले लिएको कर्जा वा ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुन जाने जोखिम हो ।

तरलता : कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

सम्पत्ति शुद्धिकरण : गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ । सम्पत्ति शुद्धिकरण अनुसनधान विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार ‘सम्पत्ति शुद्धिकरणको अपराध आफैँमा अपराध सम्बद्ध कसुर नभएर, मूल कसुरको सहउत्पादन हो ।’

मौद्रिक नीति : सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । मौद्रिक नीति केन्द्रिय बैँकले जारी गर्ने एक मात्र नीति हो, जसभित्र वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ ।

चेक : चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो ।

एटीएम : अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्रा्िष्ट्रय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।

ई बैंकिङ : ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।

डेबिट कार्ड : बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम ९अटोमेटेड टेलर मेसिन० बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।

क्रेडिट कार्ड : क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।

मोबाइल बैंकिङ  : बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ ।

ब्रान्चलेस बैंकिङ : अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली  : यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।

मर्चेन्ट बैंकर : धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त बित्तीय संस्थानै मर्चेन्ट बैंक हो । बैंकिङ क्षेत्र ‘वित्तीय बजार’ र ‘पूँजीबजार’ गरी दूई किसिमबाट कार्यरत क्षेत्र हो । जस अनुसार सरकारी बैंकहरु, बाणिज्य बैंकहरु, डेभलपमेन्ट बैंकहरु तथा लघुवित्त बैंकहरु बित्तीय बजार अन्तरगत पर्दछन् भने मर्चेन्ट बैंक पुँजी बजार अन्तरगतको शाखा हो । मर्चेन्ट बैंक आफैँमा अलग प्राइभेट बैंक होइनन्, यिनीहरु बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनी हुन् । नियमनकारी संस्था नेपाल धितोपत्र बोर्डले दिएको कार्य अधिकार तथा क्षेत्र अनुसार मर्चेन्ट बैंकहरुले काम गर्ने गर्दछन् ।  जस अनुसार मर्चेन्ट बैंकहरुले आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने, सेकेण्डरी मार्केटको सेयर किनबेचको कार्य गर्ने, सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट सेयरधनीको अभिलेख राख्ने र म्युचुअल फण्डको मामीलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु गर्छन् । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्युजिसन प्रक्रियामा परामर्शदाताको रुपमा काम गर्ने  तथा सेयर लगानीकर्ताहरुका लागि लगानी परामर्श सेवा संचालन गर्ने जस्ता कामहरु गर्दछन् ।

डिम्याट खाता : सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि सेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।

ब्लू चिप सेयर : संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको सेयरलाई ब्लू चिप सेयर भनिन्छ । यस प्रकारका सेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

वासलात (व्यालेन्स सिट) : कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।

लाभांश र बोनस सेयर : कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनश सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर(बोनश सेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।

डिवेञ्चर  : तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि, कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

वारेन्ट  : कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण सेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण सेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकार नै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण सेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण सेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण सेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण सेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

आस्वा प्रणाली : धितोपत्र सेयरको सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन् । बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् । आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल दिनेछन् । सेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाइन्छ  ।

ट्रेजरी बिल : ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

पस मेसिन : पस (POS) मेसीन क्यासलेस कारोबामर गर्ने माध्यम हो ।  जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ । साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्याधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने नेपाल राष्ट्र बैंकलाई नोट छापीरहनु पर्दैन ।

3 thoughts on “बैंकको जागिरे बन्न यी कुरा जानुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *