सामाजिक द्वन्द भनेको के हो ? खरिदार सुब्बाको लागि मतत्वपुर्ण प्रश्न

खरिदार नायब शुब्बा

सामान्य अर्थमा बुझ्दा द्वन्द्व भन्नाले झगडा, मनमुटाव, दुश्मनी, काटमार, हिंसा, लडाई, असहमती र विवाद जस्ता कुराहरुलाई बुझिन्छ । द्वन्द्व दुई वा दुई भन्दा बढी व्यक्ति वा पक्षहरु बीचको असहमती वा भिन्नता हो । मुल्य मान्यता बीच, लक्ष्य, उद्देश्यहरु बीच हुने संघर्ष र असहमतीका रुपमा यो रहेको हुन्छ । यो समूह बीचको कृयाकलाप र शक्ति एवं श्रोत माथी नियन्त्रणगर्ने उद्देश्य प्रष्ट हुन्छ । द्वन्द्व हुनुको कारण समाजमा रहेको श्रोत, साधनहरुको असमान वितरण, अवसरहरुमा असमान पहुँच, शक्तिको असमान वितरण, प्रयोग,दण्ड, न्याय एवंम् पुरस्कारको असमान अनि विभेदपूर्ण वितरण, अल्पसंख्यक एवंम् सिमान्तकृत वर्गहरु बीचमा सामाजिक विभेद आदी हुन । यी संगसंगै आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक असहमती पनि द्वन्द्वको कारण को रुपमा लिन सकिन्छ ।

द्वन्द्व समाजको अभिन्न क्रियाकलाप भएको हुँदा, समय, समाज, हावापानी, भौगोलिक अवस्था, तत्कालिन परिस्थिती आदीले पनि द्वन्द्वको स्वरुप निधारण गर्दछ । द्वन्द्व आफैमा राम्रो होईन । यसले व्यक्तिहरुको सृजनालाई नष्ट गर्दछ । द्वन्द्व पछाडी त्यसको नकारात्मक प्रभाव, द्वन्द्वमा पुगेको चोटका पिडा लामो समय रहने हुँदा द्वन्द्वका पक्षहरु बीच सुसुप्त रुपमा रही रहने हुन्छ । त्यो कुनै पनि बेला झिल्कोको आगो जस्तो फैलिन सक्छ ।

द्वन्द्वले सामान्यतया कसैलाई पनि मुक्त राख्दैन । साइज र आकारमा फरक मात्र हुनसक्छ । सबैभन्दा प्रत्यक्ष ज्वलन्त उदाहरण पछिल्लो समयमा नेपाली हुनुको नाताले पनि द्वन्द्व र यसले निम्त्याएको परिणाम हामीले भोगिरहेकाछौ । जसरी रात पछिको दिनको महत्व हुन्छ, त्यसैगरी द्वन्द्व पछि मात्र वास्तविक शान्तीको आभास हुँदोरहेछ ।

शान्ती भनेको हरेक व्यक्तिले कुनै डर, भय र त्रास विहिन वातावरणमा रही खुसी पूर्वक आफ्नो जीवनयापन गर्नसक्ने अवस्था वा स्थिती हो । भनिन्छ, अन्याय अशान्तीको र न्याय शान्तीको जरोमा रहन्छन् । यो द्वन्द्वको विपरितको स्थिती हो र यो सापेक्षिक शान्ती हो । द्वन्द्वका समयमा जनतामाथी हुने हिँसा, हत्या, असुरक्षा, भय र संत्रासबाट मुक्त गर्नु नै शान्तीको अभिप्राय हो । यो असुरक्षा, भय र त्रास विपरितको स्थिती हो । अशान्ती भएर हिँसा उत्पन्नगर्ने माथी दण्डित गरी सामाजिक व्यवस्था र सुरक्षाको स्थिती उत्पन्न गर्नु र सुरक्षित वातावरणमा आफ्नो कार्यहरु निर्भिक भएर गर्न पाउनु, सम्पती, जीवन र परिवारको सुरक्षा हुनु, अपराधी, गुण्डागर्दी र अन्यायबाट सुरक्षित हुने अवस्था नै शान्ती हो । शान्ती भनेको हिँसालाई रुपान्तरणगर्ने प्रकृया पनि हो । शान्तीको समयमा, आत्मनिर्णयको अधिकार, मानव अधिकारको सम्मान, आधारभूत आवश्यकताको परिपूर्ति, आत्मसम्मान र शान्तीप्रतिको सम्मानको सामाजिक अवस्था रहन्छ ।

शान्ती एवंम् आत्मिक आनन्दको रुपमा पनि रहन्छ । हिँसात्मक अवस्था नहुनु मात्र पनि शान्ती होईन । सकारात्मक, गतिशिल एवंम सहभागितामुलक प्रकृयाको आधारमा पारस्परिक सहमति र समन्वयमा वार्ता एवं संवादको माध्यमबाट द्वन्द्व व्यवस्थापन गर्नु पनि शान्ती हो । जीवित शान्तीमा एउटा आदर्श समाजका लागि कल्पनागर्ने सम्पूर्ण अधिकारहरु,आर्थिक सम्मुनति, पर्यावरणिय सन्तुलन एवंम अन्य आधारभूत तत्वहरु समावेश हुन्छन् । यसदेखी वाहेक शान्ी प्रेमी विश्व नागरिकमा विश्व शान्तीवादी नेता स्वामी सन म्योङ मून भन्नु हुन्छ — “ मैले वन जंगललाई ज्यादै प्रेम गर्नुको कारण संसारको शान्ती त्यही भएकोले हो । वन जंगलमा वस्ने प्राणिहरुले एकअर्का विरुद्ध लडाई गर्दैनन् । उनीहरुले एकअर्कालाई खान्छन तर त्यो भोकको कारण र टिक्नु र बाँच्नुपर्ने भएकोले हो । उनीहरुले द्वेष राखेर झगडा गर्दैनन् । जनावरहरुले अन्य जनावरहरुलाई घृणा गर्दैनन् । रुख विरुवाहरुले अरु रुख विरुवालाई घृणा गर्दैनन् । शान्तीबहाली हुनको लागि द्वेष, इष्र्या, घृणा समाप्त हुनु आवश्यक छ । मानव नै यस्ता छन् जो उही प्रजातीको सदस्यहरु प्रति द्वेष राख्दछन् ।” शान्ती भन्ने कुरा त्यहा मात्र स्थापित हुन्छ जहाँ एक अर्का बीचको अस्तित्व र उपस्थितीलाई स्वीकारिन्छ ।

द्वन्द्व, शान्ती र विकास एकअर्कासंग जोडिएका विषयहरु हुन् । द्वन्द्वले विकासलाई अवरुद्ध गर्दछ भने शान्ती र स्थिरताले विकासका लागि वातावरण सहज बनाउँदछ । नेपालको सन्दर्भलाई हेर्ने हो भने द्वन्द्व कै कारण विकास खुम्चन पुगेको छ । बैदेशिक व्यापारमा प्रभाव परेको छ । बन्द, हड्ताल र श्रमिक समस्याले उत्पादन घटेको अवस्था छ । पर्यटनमा समेत यसको नकारात्मक असर देखिएको छ । वर्तमान उर्जा संकट पनि द्वन्द्वको परिणाम नै हो ।

समाजशास्त्रमा हेर्ने हो भने विकासको अर्थ सामाजिक स्तरमा हुने सुधार हो । त्यसैगरी सार्वजनिक प्रशासन अन्तर्गत हेर्ने हो भने आर्थिक तथा सामाजिक संरचनामा भएको प्रगतिलाई विकास भनिन्छ ।

समग्रमा आमजनताको जीवनस्तरमा परिवर्तन गर्ने बहुआयामिक प्रक्रियाको रुपमा विकासलाई लिनु पर्दछ । ठूला—ठूला भवन, चिल्ला गाडीहरु, फराकिला सडक, शिक्षा , स्वास्थ्य र रोजगारी आदी मात्रै पनि विकास होइनन् । मानव चेतना र विवेकलाई सहि सदुपयोग गरी समाज र राष्ट्रलाई हरेक क्षेत्रबाट सहयोग पु¥याउने कुरा नै विकास हो । विकास आनन्दसँग पनि सम्बन्धितछ छ । भौतिक विकास भएर पनि आनन्द र सुरक्षित महसुस भएन भने त्यो वास्तविक विकास हुन सक्दैन् ।

नेपालमा हालको अवस्था भनेको द्वन्द्वको अवस्थाबाट रुपान्तरणको माध्यमद्वारा दिगो शान्ती स्थापना गर्दै, विश्वले अनुमोदीत गरेका सास्वत मूल्य र मान्यतालाई अंगिकार गर्दै, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा अग्रगामी सोचका साथ राष्ट्र निर्माणमा लाग्नुपर्ने वेला हो । विषेशगरी बौद्धिक व्यक्तित्वहरु, यूवा र महिलाहरुको संयुक्त सहभागिता र सहकार्यमा मात्र देश विकासको कार्य सम्पन्न गर्न सकिन्छ ।

नेपाली समाजमा खासगरी व्यक्ति-व्यक्ति वीच द्वन्द्व‚ परिवारमा द्वन्द्व‚ समुदाय समुदायमा द्वन्द्व‚ राजनीतिक पार्टिवीच द्वन्द्व‚ यातायात बन्द‚ नेपाल बन्द‚ छुवाछुत भेदभाव आदि जस्ता द्वन्द्व देखिएको पाइन्छ । नेपालमा देखिने यस्ता सामाजिक द्वन्द्वको मूलभूत कारण एकले अर्कोलाई विश्वास नगर्नु‚ सम्मान नगर्नु नै हो । अरु कारण निम्न छन् । :

– बेरोजगार हुन‚

-आर्थिक असमानता हुनु‚

– सामाजिक संस्कारको पालना नहुनु‚

– पादक पदार्थको सेवन‚

– सामाजिक न्यायको अभाव

– शिक्षाको कमि‚

-चेतनाको कमि‚

सामाजिक द्वन्द्वको प्रभाव

समाजिक द्वन्द्वले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्दछ । यसको प्रभाव निम्न हुन्छ :

सकारात्मक प्रभाव

– सामाजिक रुपान्तरण गर्न मद्दत पुग्ने‚

– सामाजिक चेता अभिबृद्धि हुने‚

– सामाजिक न्यायको प्रवर्द्धन हुने‚

– सामाजिक एकता‚ सद्भाव बढ्ने‚

नकारात्मक प्रभाव

– सामाजमा शान्ति व्यवस्थामा खलल पुग्ने‚

– चोरी‚ हत्या‚ अपहरणका घटना बढ्न जाने‚

– सामाजिक मूल्य मान्यता ह्रास आउने‚

– समाजमा कुसंस्कारको जन्म हुने‚

द्वन्द्व व्यवस्थापनका उपायहरु

सामाजिक द्वन्द्व समाधान गर्न सर्वप्रथम द्वन्द्वको पहिचान गरी सो अनुरुपका उपाय अवलम्वन गर्नुपर्दछ । समाजमा एकले अर्कोलाई सम्मान गर्नु पर्दछ‚ विश्वास गर्नु पर्दछ । यसैबाट द्वन्द्वको समाधान हुन्छ । अरु उपायहरु निम्न छन् :

– चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने‚

– सहमित र सहकार्यको बाटो अवलम्बन गर्ने‚

– नीति‚ योजना एवं कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सरोकारवालाको सक्रिय सहभागिता गराउने‚

– उपलब्ध साधन स्रोतको न्यायोचित वितरण गर्ने‚

– रोजगारीका कार्यक्रम सृजना गर्ने‚

– वर्गीय‚ जातिय एवं लैङ्गि शोषणको अन्त्य गर्ने‚

– सामाजिन विभेद एवं असमानता हटाउने‚

सामाजिक द्वन्द्व समाजको रोग मात्र होइन‚ यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले समाजिक द्वन्द्वलाई विनासले होइन‚ सृजनाले अन्त्य गरिनु पर्दछ । यसका लागि माथि उल्लेख गरिएका उपाउ अवलम्वन गरी सामाजिक द्वन्द्वको व्यवस्थापन गर्नु पर्दछ ।

1 thought on “सामाजिक द्वन्द भनेको के हो ? खरिदार सुब्बाको लागि मतत्वपुर्ण प्रश्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *